परिचय
इतिहास
विद्यालयको इतिहास
१.१ ऐतिहासिक पृष्ठभूमि
नेपालमा औपचारिक शिक्षाको इतिहास राणाकालबाट शुरु भएको हो । तुलनात्मक रुपमा विश्वको शैक्षिक उन्नतीमा नेपाल पछाडि नै परेको देखिन्छ । व्यवहारिक र व्यावसायिक शिक्षाको सन्दर्भमा त नेपालको गति अझसम्म पनि सुस्त स्थितिमा नै रहेको छ । त्यसैमा भौगोलिक विकटता सामाजिक आर्थिक र शैक्षिक रुपमा पिछडिएको बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका अन्तरगत वडा नं ४ मा त शिक्षा विकासको गति अन्यन्त कमजोर रहेको ईतिहास छ । यस विद्यालयको स्थापनापूर्व यहाँको साक्षरतादर सून्यको हाराहारीमा थियो । औँलामा गन्न सकिने मान्छेहरु गुरुकूल तथा स्वाध्ययनबाट सङ्ग्ला अक्षर चिन्ने थिए भने बाँकी सबै औँठाछाप जनसङ्ख्याको बाहुल्यता थियो । सामाजिक विकास तथा सुधारको मूल आधार शिक्षाको यस्तो दयनीय अवस्थाले समाज विकासको पक्ष दुरुह अवस्थामा थियो ।
देशले शताव्दियौँ निरङ्कुशताको सिकार हुनुपरेका कारण जनतामा चेतनास्तर पनि अत्यन्त न्युन भएको सन्दर्भमा यस विद्यालयको स्थापनाको एकदशक अगाडि मात्र १०३ बर्षे राणा शासकहरुलाई जनआन्दोलनले परास्त पारेर प्रजातन्त्रको उदय भएको परिप्रेक्ष्यमा शिक्षाको महत्व समुदायस्तरसम्म झल्किन थालेकोबाट यस विद्यालयको स्थापनाकर्मलाई उर्जा मिलेको देखिन्छ ।
वि.सं. २०१२/१४ मा छिमेकी गाउँ कैलाशमाडौँको कालापानी, सालडाँडामा स्थापना भएको श्री नरसिंह प्राथमिक विद्यालय र त्यससँग शिक्षाको महत्वबारे प्रचारप्रसारबाट प्रभावित भएर स्थानीय स्तरमा तत्कालीन सिर्जनशील, शिक्षाप्रेमी सामाजिक अगुवाहरुको सक्रियता र सहभागितामा परिस्थिति अनुकूल अनौपचारिक कक्षाहरु सञ्चालन भएको देखिन्छ । यसै प्रयासको मूर्तरुप श्री तोली देवलडाँडा माध्यमिक विद्यालय हो ।
यस विद्यालयलाई प्रारम्भमा अनौपचारिक शिक्षालयको रुपमा स्थापना गरिएको देखिन्छ । त्रिवेणी नगरपालिका-४ बाङ्सेरीका समाजसेवी अमृत साउदको घरबाट पढ्ने पढाउने काम शुरु भइ तोली देवलडाँडामा प्रारम्भमा खरको चौपाखे पढाइकेन्द्रको रुपान्तरण र विकास हुँदै २०१७ सालमा नेपाल सरकारको अनुमति सहित औपचारिक रुपमा तोली देवलडाँडा प्राथमिक विद्यालयको रुपमा यस विद्यालयको स्थापना भएको हो ।
यस विद्यालयको स्थापना तथा सञ्चालनमा स्थानीय नागरिक अगुवाहरु त्रिवेणी नगरपालिका वडा नं ४ पिपलसैनका लालबहादुर साउद, पारीघरका नवलसिंह साउद, ढकेनाका झङ्करी साउद, बाङ्सेरीका अमृत साउद, गाग्राका चक्र गिरि तोलेनका जोगी साउदलगायतले अग्रणी भूमिका खेलेको देखिन्छ । शुरुवातमा पिपलसैनका लालबहादुर साउद, बाँसेरीका अमृत साउदले अवैतनिक रुपमा शिक्षण गरी तोलीको शैक्षिक विकासमा अतुलनीय योगदान गर्नुभएको थियो । पछि सामान्य मानाखर्चबाट विद्यालय सञ्चालन गरेको देखिन्छ । तत्कालीन समयमा राणाशासनको धङ्धङीबाट जनताले उन्मुक्ति प्राप्त गरेसँगै शिक्षाको महत्वमाथि विशेष चर्चा हुन थाल्यो । त्यो किसिमको वातावरण तोलीका सर्वसाधारणले समेत अनुभूत गरेपछि स्थानीय समुदायको शिक्षाप्रतिको उच्च लगावको परिणाम स्वरुप यस विद्यालयको स्थापना भएको देखिन्छ ।
स्थापनाको झण्डै २१ वर्षपछि अर्थात २०३८ सालमा आएर यस विद्यालयलाई संस्थापक सामाजिक अगुवा वयोवृद्ध समाजसेवी तथा युवा पुस्तासमेतको सक्रिय भूमिकाले विद्यालयलाई निम्न माध्यमिक तह स्तरोन्नती गरिएको थियो । निम्न माध्यमिक तह त्यतिखेर कक्षा ७ सम्ममात्र हुन्थ्यो । कक्षा ८ देखिको शिक्षाका लागि विद्यार्थीलाई अझैपनि सकस भएको देखेर २०५० सालमा तत्कालीन स्थानीय राजनीतिक अगुवाहरु तोली गा.वि.स. अध्यक्ष कालु साउद, गा.वि.स. उपाध्यक्ष कृष्णराज गिरि, समाजसेवी काले ऐडी, मानबहादुर भण्डारी लगायतको पहलमा माध्यमिक तह स्तरोन्नतीको पहल भयो। सोही बर्ष स्थानीय शिक्षाप्रेमीहरु लालसिंह साउद जोगी साउद, देवे साउद धने साउद लगायत सामाजसेवीले नगद जिन्सी समेत धरौटीमा राखी माध्यमिक तह स्तरोन्नतीका लागि योगदान गरेका थिए । यस समयमा गुल्मी घर भएका पदमपानी शर्मा विद्यालयका प्रधानाध्यापक थिए । यीँ सबैको अथक प्रयासका कारण तोली देवलडाँडा निम्न माध्यमिक विद्यालय तोली देवलडाँडा माध्यमिक विद्यालयको रुपमा विकसित हुन सफल भएको थियो । त्यस समयमा विद्यालयको माध्यमिक तहलाई पूर्ण रुपमा निजीस्रोतमा सञ्चालन गरिएको थियो । विद्यालयलाई बचाई राख्नका स्थानीय शिक्षाप्रेमी समाजसेवीहरुको साथै खाई नखाई विद्यालयलाई अल्पवैतनिक तथा अवैतनिक रुपमा समेत काम गर्न]पछि आएर यस विद्यालयको प्रधानाध्यापक समेत बन्नुभएका बुढीगंगा नगरपालिका निवासी हिरालाल रेग्मी बझाङ्का धनबहादुर नाथ त्रिवेणी नगरपालिका-२ सिम्लाका प्रेमलाल जोशी लगायतको विद्यालयको निरन्तरताका लागि महत्वपूर्ण योगदान रह्यो ।
समयक्रमसँगै माध्यमिक तहको शिक्षा प्राप्त गरी चरम गरिवीका कारण उच्च शिक्षाको पहुँचमा जान नसकेका युवायुवतीहरुको परिस्थितिलाई मध्यनजर गरी स्थानीय स्तरमा नै शिक्षाको पहुँचमा पुर्याउने उद्देश्यका साथ २०६८ सालमा यस विद्यालयलाई तत्कालीन उच्च माध्यमिक तह कक्षा ११ र १२ सञ्चालन गर्नेगरी अनुमति प्राप्त गरेपछि यो विद्यालय हालको अवस्थामा आएको हो । कक्षा ११ र १२ को स्तरोन्नतीका लागि तत्कालीन प्रधानाध्यापक रामबहादुर धामी र वि.व्य.स. अध्यक्ष कालु साउदको पहलमा स्थानीय समाजसेवी बुद्धिजीवीहरुको विशेष योगदान रहेको छ । भारतमा मजदुरी गर्ने स्थानीय शिक्षाप्रेमी समुदायले खाईनखाई चन्दादान गर्नुभएको र साविक तोली पूर्भुताका सबै जनसमुदायले आफ्नो गच्छे अनुसार विद्यालयको उच्च माध्यमिक तह उन्नतीका लागि गर्नुभएको चन्दादानको उर्जाले उच्चमाध्यमिक तह उन्नतीका लागि विशेष योगदान पुगेको थियो । उच्च माध्यमिक तह उन्नतीका लागि ८ लाख धरौटी आवश्यक भएकाले उक्त रकम चन्दाबाटमात्र सम्भव नभएको र विद्यालयको कोश निजीस्रोत जनशक्ति व्यवस्थापन गर्दै रित्तिएको अवस्थामा तत्कालीन प्रधानाध्यापक टेकराज गिरिको विशेष पहलकदमीमा त्यतिखेर निम्नमाध्यमिक तहमा कार्यरत शिक्षक परमानन्द जोशीले रु ३ लाख १ प्रतिशत ब्याजदरमा विद्यालयलाई ऋण दिनुभएको तथा छिमेकी विद्यालय रत्न माध्यमिक विद्यालय सेलिफालका प्रधानाध्यापक रत्नबहादुर अयडीले रु १ लाख निर्ब्याजी ऋण उपलब्ध गराउनुभएको साथमा तोली देवलडाँडा माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरु राजेन्द्रप्रसाद चौधरी परमानन्द जोशी गोरखबहादुर बोहरा नृगबहादुर नेपाली कृष्णराज रेग्मी कुलभान भारती रुपबहादुर नेपालीले आफूलाई प्राप्त पोशाकभत्ता वापतको रकम ऋण सहयोग तथा आम अभिभावकको भेलाबाट पछि क्षतिपूर्ति गर्नेगरी बालबालिकाले पाउने छात्रवृत्ति समेत धरौटीमा गरी उच्च माध्यमिक तह उन्नतीको सम्बन्धन उच्च माध्यमिक शिक्षा परिषदबाट प्राप्त गर्न सफलता मिलेको थियो । पछि उच्च माध्यमिक तह जोगाईराख्न तत्कालीन विद्यालयमा कार्यरत प्रधानाध्यापक टेकराज गिरि निजीस्रोत शिक्षक प्रेमबहादुर साउद राजेन्द्रप्रसाद चौधरी विष्णुभक्त जोशी उष्म थापा धनबहादुर रावल मोहन सार्की लगायतका शिक्षकहरुले दोहोरो काम गरी न्युनतम पारिश्रमिक तथा निशुल्क समेत शिक्षण गरी उच्चमाध्यमिक तह बचाईराख्न गर्नुभएको सहयोग अतुलनीय छ । त्यसपछि २०७२ सालमा प्रधानाध्यापक रतन प्रसाद जैशी र वि.व्य.स अध्यक्ष काले ऐडी को कार्याकालमा समेत शैक्षिक ,भौतिक तथा आर्थिक सम्बन्धित केहि कार्यहरु भएको देखिन्छ । रतन प्रसाद जैशी पछि वि.स.२०७६ जेठ १० गते वर्तमान प्रधानाध्यापक विष्णुप्रसाद ओझा नियुक्ति हुनुभयो सो अवधिमा वि.व्य.स अध्यक्ष गणेश ब.साउद र शि.अ.सं अध्यक्ष केशब बहादुर साउद हुनुहुन्थो । वि.स २०७६ पछि यस विद्यालयले शैक्षिक ,भौतिक र आर्थिक पक्षमा महत्वपुर्ण उल्लेखनिय उपल्बधिहरु भएका छन् । तिन वटा पक्कि भवन दुई वटा सुविधा सम्पन्न शौचालय पुस्तकालय तथा खानेपानी खेलमैदान जग्गा खरिद आंशिक खेलमैदान निर्माण शैक्षिक तिर अंग्रेजी माध्यममा कक्षा सञ्चालन शैक्षिक गुणस्तर सुधारका क्रियाकलापहरु नमूना विद्यालय निर्माण कार्यको प्रारम्भ अनावष्यक व्ययभार कटौति गर्नुका साथै विद्ययालय समुदाय विच सुमधुर सम्बन्ध कायम भएको देखिन्छ । वर्तमान अवस्थामा पुन:वि.व्य.स अध्यक्ष गणेश बहादुर साउद नै हुनुहुन्छ र सि.अ.सं अध्यक्ष उदय बहादुर साउद छन् । शैक्षिक अवस्था सुधार गर्नमा विश्वव्यापिरुपमा फैलियको कोभिड १९ ले असर पार्यो तर पनि विद्यालयको पहल कदमिमा शिक्षण सिकाई स्थगित भयन विभिन्न माध्यमबाट बालबालिकाको पढाई सफल बनाउन विद्यालय परिवार सकृय नै रहयो । विद्यालयको सर्वाङ्गिण विकास हुनुमा वि.व्य.स को अनुगमन ,प्रधानाध्यापको लगन , शिक्षकको चिन्तन र विद्यार्थीको अनुसासन समुदायको सकृयता ,सरकारि तथा गै.स.स को सहयोग उपल्बधि पूर्ण रहयो । वर्तमान अवस्थामा प्रविधि मैत्रि कक्षा कोठा कम्प्यूटर प्रयोगशाला, पुस्तकालय प्रयोग, विज्ञान प्रयोगशालाको प्रयोग,विषयगत समितिहरुको निर्माण मासिक समिक्षा ,सञ्चालन गर्दे जिल्लाकै सबै भन्दा बढी पढाई हुने विद्यालयको रुपमा रहेको छ । त्यसैगरी विद्यालयको निरन्तरता र सुधारका लागि वर्तमान प्रधानाध्यापक विष्णुप्रसाद ओझाले निःशुल्क र न्युन पारिश्रमिकमा बालबालिकाहरुलाई अतिरिक्त कक्षा सञ्चालन गर्न पहल गरी विद्यार्थीको सिकाई उपलब्धी बृद्धिका लागि विशेष योगदान गर्दै आउनुभएको छ ।
यसरी आजको अवस्थासम्म विद्यालयाई पुर्याउनका लागि विद्यालयका सबै तह र तप्काबाट निस्वार्थ सेवामा शिक्षक अभिभावक समेत समस्त तोली पुर्भुताबासी जनसमुदायको विशेष योगदान रहेको छ ।
यस विद्यालयको स्थापनाकालको चौपाखे खरको छाना सहितको कच्ची पढाईकक्ष विस्थापित गर्दै स-साना घरबाट कक्षाकोठाहरु विस्तार भएको देखिन्छ । शुरुमा समुदायको श्रमदानबाट भौतिक विस्तार भएकाले सुविधाका दृष्टिले नितान्त कमजोर भवनहरु रहेको र काठका खस्रा कालोपाटीहरु कक्षामा झुण्ड्याई शिक्षण गर्ने गरिएको थियो । स्थानीय घट्टेखोलामा पाइने कमेरो माटोलाई छानी चक बनाएर कक्षा शिक्षणमा प्रयोग गरिन्थ्यो । पछि २०४० को दशकमा सेती परियोजना बाजुरामा भित्रिएसँगै भौतिक रुपमा २ तले तर प्राविधिक दृष्टिले न्युनगुणस्तरीय भवनमा कक्षाकोठाहरु निर्माण गरिए । तथा विद्यालयको घेरा पर्खाल समेत लगाइएसँगै केही सुधार भएपनि अपेक्षाकृत विकास भने अझै हुन सकेको थिएन ।
शिक्षक दरवन्दीको अभाव तथा प्राप्त शिक्षकहरुमा पनि तालिम र दक्षताको कमी विद्यालयले लामो समयसम्म नै व्यहोर्नुपर्यो । विद्यालयको भौतिक पूर्वाधार विकासका लागि विद्यालयले निक्कै लामो समयसम्म अभावै अभावमा शैक्षिक गतिविधिहरु सुचारु गर्नुपर्यो । अभावको परिपूर्तिकै बाटोमा विद्यालय परिवारको अर्जुनदृष्टि परेका कारण गुणस्तरीय शिक्षाको व्यापक सोचमा विद्यालय परिवार लामै समयसम्म जोडिन सकेन । खानेपानीको चरम अभाव, कक्षाकोठाको अभाव, खेलमैदान नहुनु तथा समयमा पाठ्यपुस्तक नपाउनुजस्ता समस्याहरु तत्कालीन विद्यालय शिक्षा सुधारका मुख्य बाधाहरु थिए । २०४६ सालपछि विद्यालयले क्रमिक रुपमा केही दरवन्दीहरु प्राप्त गर्दा विद्यालय विकासका लागि केही सहजता प्राप्त भएको देखिन्छ । २०४२ तिर निम्न माध्यमिक तहको पहिलो दरवन्दी प्राप्त भएको यस विद्यालयमा विद्यार्थीको चापसँगै शिक्षक दरवन्दीहरुथपिँदा केही राहत भएपनि अपेक्षाकृत दरवन्दीको अभाव भने विद्यालयले अद्योपान्त व्यहोरीरहेकै छ ।
यस विद्यालयलाई २०५२ सालमा माध्यमिक तह स्तरोन्नतीको अनुमति प्राप्त भइसकेपछि पहिलोपटक निम्नमाध्यमिक तह द्वितीय श्रेणको दरवन्दी प्राप्त भएको थियो । तत्कालीन विद्यालय देवलडाँडाको होरी खेल्ने चौरको शिरानमा उक्त ठाउँमा अहिलेपनि यस विद्यालयका खण्डहर भवनहरु जीर्ण रुपमा रहेकै छन् । यस विद्यालयको माध्यमिक तहसम्मको यात्रा तय भएकोमा २०६० सालतिर भौतिक सुविधा विस्तारका लागि स्थान साँघुरो भएकोले समग्र तोलीबासीको कुलदेवता मष्टामाडौँको परिसरसँगै जोडेर विद्यालय भवन विस्तार गरिएको थियो । हाल यस ठाउँमा ९ कोठे २ तले पुरानो भवन र त्यससँगै जोडिएको ४ कोठे २ तले भवन विद्यालयको दक्षिणी भागमा ४ कोठे दुई तले भवन त्यस बीचमा त्रिवेणी नगरपालिकाको लगानीमा २ कोठे भवन र त्यससँगै जोडिएको सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालयको अनुदानमा ४ कोठे पक्की भवन प्रयोगाधीन अवस्थामा रहेका छन् । हाल यस विद्यालयमा करिव ९०० विद्यार्थीहरुले वर्षेनी शिक्षा प्राप्त गर्ने अवसरको उपयोग गरिरहेका छन् ।